काठमाडौं, १६ बैशाख । संघीय संसदको वर्षे अधिवशेन आज सोमबारदेखि सुरु हुँदैछ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो ४ बजे बस्दैछ ।

दुवै बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाइने छ ।
त्यसपछि प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

त्यसपछिदुवै सदनमा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिनेछ । पूर्व संविधानसभा सदस्य दिवाकर गोल्छा, पूर्व प्रतिनिधिसभा सदस्यद्वय रुद्रमणी शर्मा भण्डारी र रामकृष्ण ताम्राकारको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

शोक प्रस्तावहरु भएकाले आजको बैठकमा अन्य विषयमा छलफल नहुने संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। बर्षे अधिवेशनमा सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत हुनेछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट संसदमा पेश गर्नुपर्छ । त्यसअघि यहि २० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी सरकारले गरेको छ ।