२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले डेंगु नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले डेंगु भनेर कराउँदा कराउँदा थाकिसकेको बताए । ‘आज डेंगुका विषयमा यो सरकार बोल्दैन, अमेरिकाको सरकारले बोल्दियो, उनले भने, उसले आफ्ना नागरिकलाई नेपालमा डेंगु छ नजानु, नेपालमा भएका पनि सचेत रहनु भनेर भनिसक्यो यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?

‘सरकारको मन्त्री डेंगु पीडित । डाक्टरहरु डेंगुपीडित । कतिजना सांसदलाई डेंगु लागेपछि सरकारको ध्यान जाने हो ? उनले आक्रोशित हुँदै भने, सभामुख महोदय तत्काल स्वास्थ्य मन्त्रीलाई रुलिङ गरियोस्, अहिल्यै यहाँ आएर जवाफ दिनुपर्यो सरकारको धारणा के हो ? ‘

उनले स्वास्थ्य मन्त्रीले तत्काल जवाफ दिनुपर्ने पटक पटक माग गरे । डेंंगु के हो ? कसरी लाग्छ ? बच्न के गर्नुपर्छ ? उपचार कसरी हुन्छ ? मरेकालाई के गर्ने हो ? सरकारले स्पष्ट पार्नुपर्यो होइन भने म विरोध गर्छु । उनले भने । यति भनेपछि सभामुख कृष्णबहादुर महराले आफूले यस विषयमा रुलिङ गर्ने जवाफ दिएका थिए ।