२२ भदौ, काठमाडौँ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे । सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडाैँको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए । सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताए ।

उनले प्रश्न गरे, “डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?” सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भनिन् । मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ ।

आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उनले काठमाडाै‍स्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराए । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गरिन् । बैठकमा सांसद टेकबहादुुर बस्नेतले असार मसान्तमा नै खर्च गर्ने प्रवृत्ति कानूनले अन्त्य गरेपनि व्यवहारिकरुपमा अन्त्य नभएकोतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । अर्का सांसद तेजुलाल चौधरीले धान रोप्ने समयमा तराई÷मधेशमा बाढी डुवान भएको यो अहिले सुख्खाग्रस्त भएकाले सङ्घीय सरकारले ध्यान दिन आग्रह गरे ।