२८ भदौ, मेलम्ची।

भूकम्पका कारण चिराचिरा भएको जमिनमा पानी छिरेर पहिरो गएपछि सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोक जिल्लाको उत्तर–पश्चिम क्षेत्रका दर्जनौँ गाविसमा दैनिक उपभोग्य वस्तुको ठूलो समस्या देखिन थालेको छ ।

पहिरोका कारण जिल्लाको तिपेनी, महादेव खोलालगायतका विभिन्न ठाउँमा गएको पहिरोका कारण दुई महिनादेखि मेलम्ची थाङ्पालकोट सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

जिल्लाको बरुवा, बाँसखर्क, रिपार, गुन्सा थाङ्पालकोटलगायतका क्षेत्र पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोका कारण यातायात सञ्चालन नहुँदा दैनिक दश घन्टाको बाटो हिँडेर मेलम्ची बजार पुगिने र दैनिक उपभोग्य सामान नुन, तेल, चिनी दाल, चामल लिन पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थाङ्पालकोट गाविसका कुमार बस्नेतले बताए ।

उहाँका अनुसार गाविसमा कतिपयका छोराछोरी विदेशमा गएका छन् र उनीहरुको दैनिक उपभोग्य सामान लिनका लागि जाने कोही हुँदैनन् । भूकम्पपछि गाउँमा युवायुवती आफ्नो वासस्थान बनाउन कमाउने हेतुले राजधानी तथा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका छन् । गाउँमा अहिले वृद्धाबाहेक कोही छैनन् ।

सडक सञ्चालन हुन अझै कति लाग्ने निश्चित छैन । पहिरो जानेक्रम अझै रोकिएको छैन । विकट गाउँ गुन्सा, भोताङका स्थानीयवासीले दैनिक खाद्य सामान लिन ठूलो कष्ट पाउने गरेका छन् । पैदल हिँड्दा पहिरोले पुर्ने डर हुन्छ, नहिँडौ खाने चिज छैन । रातभर पहिरोले बगाउला भन्ने डरको बाँच्नुपरेको छ भोताङ सुनचौरका ३२ वर्षीय रमेश तामाङले भने।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको भोताङका गाविसका हरिबहादुर तामाङ भन्नुहुन्छ, नुन, तेल मसलालगायतका सामान सकियो किन्नका लागि ज्यानको माया मारेर बल्लतल्ल बजार पुगिन्छ पानी परेपछि बजारकै बास हुन्छ मरमसलाको मूल्यभन्दा तेब्बर बाटोमै खर्चिनुपर्ने बाध्यता रहेको छ ।

सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीय निकाय र प्रशासनले ध्यान दिनुपर्ने तामाङको भनाए रहेको छ । रासस