२९ वैशाख, ललितपुर । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न हुनुभएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गत वर्ष नै लमपाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो । रासस