२३ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडी स्पिनर सन्दीप लामिछाने अहिलेअ अस्ट्रेलियामा छन् । अस्ट्रेलियामा जारी बिगबास लिग टी–ट्वान्टी क्रिकेटमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । केहीदिन अघि ट्वीटरमार्फत जुत्ताको प्रायोजक खोजिरहेका सन्दीपले बुधबारको खेलमा नयाँ जुत्ता लगाएर खेलेका छन् ।

बुधबार सिड्नी थन्डरविरुद्धको खेलमा सन्दीपले प्रायोजन जुत्ता लगाएका थिए । उनले लगाएको सेतो जुत्तामा कालो रङले ‘भिजिट नेपाल २०२०’ छ । उनको जुत्ताले खेलको कमेन्ट्रीमा पनि चर्चा पाएको थियो । कमेन्टेटरहरुले नेपालमा भिजिन गर्नको लागि प्रचारप्रसार भएको बताएका छन् । पर्यटनको लागि उनले यस्तो प्रचार गरेको त्यहाँका अर्का कमेन्टेटरले बताए ।

अघिल्लो वर्ष पनि बिगबास लिग खेलेका सन्दीप यसपटकको विगबासमा पनि अनुबन्धित भए । यसपटकको खेलमा पनि सन्दीपले उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् । खेलको दुई सिजन नै मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले १३ खेलमा १७ विकेट लिइसकेका छन् । बुधबार भने सन्दीपले बिर्सनलायक प्रदर्शन गरेका छन् । पुरै ४ ओभर बलिङ गरेका सन्दीपले बिना विकेट ३९ रन खर्चिए । शुरुवाती तीन ओभरमा २१ रन दिएका उनले अन्तिम ओभरमा १८ रन दिए ।