२५ मंसिर, काठमाडौं । नेपाली क्रिकेटका स्पिनर खेलाडी सन्दीप लामिछानेले घरेलु लिग पोखरा प्रिमियर लिग नखेल्ने भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफूले प्रतियोगिता नखेल्ने जानकारी गराएका हुन् ।

गतवर्ष विराटनगर टाइटान्सबाट खेलेका उनले यसवर्ष भने नखेल्ने भन्दै सहभागी सबै टीम, खेलाडी, कोच र अफिसियलहरुलाई सफलताको शुभकामना दिएका छन् । एक ट्वीटमार्फत सन्दीपले प्रतियोगिता नखेल्ने जनाए ।

उनले पाकिस्तान सुपर लिग खेल्ने भएकोले पनि पोखरा प्रिमियर लिगमा नखेल्ने भएका हुन् । पाकिस्तान प्रिमियर लिगमा १ करोडभन्दा बढी रकममा अनुबन्धित भएका छन् । उनले भर्खरै राजधानीमा सकिएकाे १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा समेत सहभागी भएका थिएनन् । आँखाकाे शल्यक्रियाका कारण सन्दीपले साग नखेलेकाे बताएका थिए ।

दोश्रो संस्करणको पोखरा प्रिमियर लिग मंसिर २८ गतेदेखि शुरु प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गतवर्षको बिजेता टीम पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्दैछ ।