१५ कात्तिक, काठमाडौं । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ । हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताए ।

साइकलमा चढाइ बजारबाट एक किलोमिटर पश्चिम पुर्‍याएका बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिई बालिकाका मामा रवी शर्मालाई खबर गरेका थिए । अपरिचित युवासँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएको बालिकाका मामा शर्माले बताए ।

‘श्राद्धको पूजा र भोजमा व्यस्त रहेका बेला गाउँलेहरुले अपरिचित दुई युवकले भाञ्जीलाई साइकलमा लैजाँदै छ भनेपछि हामी दौडिएर गयौं’, शर्माले भन्नुभयो, ‘हाम्रो भाग्य भनौ वा दिन दह्रो रहेछ गाउँलेहरुले बालिकालाई चिनेकाले सोधपुछ गर्दा अपहरण हुन पाएन र भाञ्जीलाई सकुशल पायौं ।’

चिया र बिस्कुटको प्रलोभन दिई बालिकालाई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेका अपरिचितलाई स्थानीयवासीले कुटपिटसमेत गरेका छन् । आरोपित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । कोशी नदीबाट महिलाको उद्धार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ ।

कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ । कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक मो। साकिर राईनको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो ।

हामफालेको देखेपछि तत्काल उद्धार गरी चौधरीलाई स्थानीय भारदह अस्पतालमा ल्याइएर उपचार गरिएको प्रनाउ राईले बताए ।