२८ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१ प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज ल्याइएकामा पनि उपचारकै क्रममा मृत्यु भएको दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु समेत भएको छ ।ना १ क ७९८३ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री राजविराज–१० दिघवा निवासी २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।