७ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सापकोटामा उम्मेद्वारी दर्ताको प्रस्तावकमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकहरुमा नेकपा सांसद देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् । ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपासँगको सहकार्य गरेको राजपाले सापकोटालाई समर्थन गरेको हो ।

बिहान ११ बजेदिख दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय तोकिएकोमा अहिलेसम्म सापाकोटामा मात्र उम्मेद्वारी दर्ता गरिएको छ । नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलहरुले सभामुखको लागि उम्मेद्वारी दर्ता गराएका छैनन् ।

सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।