१५ असोज, काठमााडौं । प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको छ । संसद सचिवालयले सभामुखको कृष्णबहादुर महराको राजीनामा प्राप्त भएको सूचना जारी गरेसँगै सभामुख पद रिक्त भएको हो ।

“उपसभामुखज्यूको आदेशानुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।” संसद सचिवालयका सचिव डाक्टर भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । संसद सविचालयकी एक कर्मचारीले महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिजो उपसभामुखसमक्ष राजीनामा दिएका थिए । नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो । तर महराले सभामुखको पदबाट मात्रै राजीनामा दिएको र त्यो पनि अनुसन्धान नसकिउन्जेलसम्मका लागि मात्रै उल्लेख गरेका थिए ।

आरोप लगाएकी महिलाले हिजै बेलुकी आफ्नो बयान फेर्दै महरा निर्दोश रहेको दाबी गरेसँगै उनी पुनः सभामुख पदमा फर्कनसक्ने चर्चा चलेको थियो । तर सभामुख वा उपसभामुखले राजीनामा दिएपछि स्वीकृत गर्नुनपर्ने र स्वतः पद रिक्त हुने कानुनी व्यवस्था छ ।

अब उनको राजीनामाबारे संसद सचिवालयले सूचना प्रकाशित गरेसँगै महराको यो पदमा फर्कने संभावना सकिएको छ । अब सभामुखका लागि नयाँ चुनाव गर्नुपर्नेछ ।