१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ ।

आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतकोे कार्यालयका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलबाट छ हजार ९४ उम्मेदवारको नाम समावेश भएको प्रारम्भिक विवरण रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरेकाको हुन ।

सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिनेसमेत व्यवस्था छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार यही कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम छ । जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।