२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको आरोप लगाएका छन् । संघीय संसदको बजेट अधिवेशन समापनमा बोल्दै देउवाले सरकारले राज्य आंतक मात्रै मच्चाएको दाबी गरे ।

देउवाले सरकारले संविधानको मर्म अनुसार काम गर्नै नसकेको उनको जिकिर छ । जनताको सर्वोत्तम हितका लागि नेकपालाई दुईतिहाइ बहुमत दिएका थिए’, उनले भने, ‘तर सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्न लागेको छ। व्यवस्थापिकलाई खेलौना बनाउन लागेको छ।’ देउवाले सरकारमाथि निगरानी गर्ने संस्था र आयोगहरुमाथि पनि सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।
‘सरकारको काम निगरानी गर्ने आयोगमाथि पनि सरकारले नियन्त्रण राख्ने काम गरेको छ’, उनले भने, सरकारको गति अति सुस्त भएको छ ।’

नेपालको इतिहासमै सबैभन्दा ठूला भ्रष्टाचारका घटना भएको भन्दै देउवाले संसदमा वाइड बडी खरिदमा भएको भ्रष्टाचारको कुरा पनि उठाए। ‘वाइडबडी, न्यारोबडी खरिद र सुनकाण्ड जस्ता ठूला भ्रष्टाचार भएका छन्’, देउवाले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा कसैलाई उन्मुक्ति दिनु हुँदैन।’ सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै उनले विवादास्पद विधेयक ल्याएर सरकारले त्यसलाई पुष्टि गरेको उनको भनाइ थियो ।