झापा, १ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले सरकार नेपाली काँग्रेसको निगरानीमा रहेको बताएका छन् ।

झापाको दमकमा बुधबार कार्यकर्ताहरुसँग भेटघाटको क्रममा उनले जनताले कांग्रेसलाई पाँच बर्षसम्म प्रतिपक्षमा रहन जनादेश दिएको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति मसिनो गरि निगरानी बढी रहने स्पष्ट पारे । अहिले सरकारले गरेका गलत कामको निगरानीले आगामी चुनावमा हिसाव गर्ने उनको भनाई छ ।

सो क्रममा उनले सरकारका गलत क्रियाकलापको प्रतिकार गर्न कार्यकर्तालाई पनि निर्देशन दिए । उनले सरकारका कारण देशमा सुशासन कमजोर भएको र कार्यकर्ता पोस्ने काम मात्र भएको भन्दै यस्ता क्रियाकलापको भण्डाफोर गर्न निर्देशन दिएका हुन् । सो क्रममा उनले अहिले भ्रष्टाचार बढेको भन्दै आफ्नो ठाउँमा भईरहेका विकास निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्तालाई निर्देशन दिए ।

वर्तमान सरकारले बिकास निर्माणका काममा आफ्ना आसेपासे र कार्यकर्ताहरु पोस्ने काम गरेकाले अव त्यसलाई नियन्त्रण गर्न कांग्रेस कार्यकर्ताहरुले त्यसको अनुगमन गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने जोड दिए ।