११ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्नेमा सचेत हुनुपर्ने भएपनि डरानुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रवक्ता श्रेष्ठले सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । ‘कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन,’ श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए । चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिएपनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ । ‘स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन,’ श्रेष्ठले भने ।

तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाई छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागु भइसकेको श्रेष्ठले बताए । चीनसँगका नाका तथा त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । ‘शंका लागेमा सिधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।’ टेकुमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए । ‘नसर्ने रोग भए डराउनुपर्थेन । यो रोग सर्ने खालको हो । किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ । मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ,’ श्रेष्ठले भने ।