८ मंसिर, एजेन्सी । भारतको केरला राज्यमा कक्षाकोठामै सर्पको डसाइले एक विद्यार्थीको मृत्यु भएपछि सो विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षक निलम्बनमा परेका छन् । सर्पको डसाईबाट सो विद्यालयमा अध्ययन गर्ने शेहला शेरिनको सर्पको डसाइबाट मृत्यु भएको हो ।

उनका सहपाठी तथा परिवारका सदस्यहरूले विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । सो घटनाले केरला राज्यमा आक्रोश उत्पन्न गराएको छ । स्थानीय अधिकारीहरूले सो विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन् । कंक्रिटको भुईमा दुलोमा लुकेर बसेको सर्पले विद्यार्थीलाई डसेको बताइएको छ । उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेकोबारेमा एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्ता गरेनन् । सो घटनामा प्रधानध्यापक, उपप्रधानाध्यापक र ती शिक्षकसहित तीन जना निलम्बनमा परेका हुन ।

एक घण्टापछि शेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गएका थिए । एक घन्टासम्म उनलाई अस्पताल लगिएको थिएन । उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भएको हो ।

यस घटनाले केरलामा विद्यालयको स्थितिलाई लिएर गुनासो तथा विरोध गर्ने क्रम बढेको छ । सरकारी अधिकारीहरूले स्थानीय विद्यालयको सरसफाइ तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । केरलाको मानव अधिकार आयोग तथा विभिन्न निकायले सो घटनाको अनुसन्धान गरिरहेका छन् ।

घटना भएको वायनाड जिल्लाका सांसद राहुल गान्धीले राज्यका मुख्यमन्त्रीलाई चिठी लेखेका छन् । उनले सो चिठीमा विद्यालयहरूको ‘जीर्ण पूर्वाधारबारे’ ध्यानाकर्षण गराउनुका साथै पीडितका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।