२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका छन् ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेका बेला दलहरुले यस्तो सुझाव दिएका हुन् ।

बैठकबाट बाहिरिने क्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सिमा विवाद अब सचिवस्तरीय संयन्त्रबाट समाधान नहुने भएकोले प्रधानमन्त्रीस्तरमा वार्ता गरेर स्थायी समाधान खोजिनुपर्ने बताए ।

राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि तथ्यांकअनुसार पनि कालोपानी र लिपुलेक नेपालको भूमी भएकोले यसबारेमा सरकारले भारतसँग कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे । यस्तै उनले नेपालले विज्ञप्ति मात्रै होइन, भारतीय पक्षलाई आफ्ना असन्तुष्टि प्रष्टरुपमा सुनाउँदै भारतीय सेनालाई लिपुलेक र कालापानीबाट फिर्ता गर्नुपर्ने तर्क गरे ।

‘भारतले नेपालको ठूलो भूमिसहितको नक्सा जारी गरेपछिको अवस्थामा बसेको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न सुझाव दिनुभएको छ’, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘नेपाली भूमि राखेर जारी गरिएको नक्साको बारेमा सरकारले भारतीय राजदूत बोलाएर स्पष्टीकरण लिनुपर्ने विषयमा सबै दलहरू एकै ठाउँ र एकमत हुनुहुन्छ।’

सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्री, सीमाविद, राजनीतिक दलका नेताहरु लगायत थिए ।