६ मंसिर, विराटनगर । निर्वाचनलाई प्रभावित पर्ने किसिमले आचारसंहिता विपरीत हुने गरेको कार्यलाई रोक्न सरोकारबाला निकायबीच पाँच बुँदे सहमति भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित सर्वदलीय बैठकमा भएको सो सहमति पत्रमा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन क्षेत्रमा खसालिएको निर्माण सामाग्री र विद्युत्पोल हटाउन, स्वास्थ्य शिविर बन्द गर्न, अनुमति विपरित दलको झण्डा लगाइएको सवारीसाधन सञ्चालनमा रोक लगाउन, मापदण्ड विपरित लगाइएका तुल, ब्यानर, फ्ल्याक्स बोर्ड हटाउन र बेलुकी ७ बजेपछि मदिरा पसल बन्द गर्ने उल्लेख छ ।

सो अवसरमा विभिन्न दलका प्रतिनिधिले मोरङको निर्वाचन क्षेत्र नं २, ३, ४ र ५ मा आचारसंहिता विपरित मतदान कार्यलाई प्रभावित गर्ने कार्य भइरहेको गुनासो व्यक्त गरे ।

सो अवसरमा मोरङका मुख्य निर्वाचन अधिकृत राजुकमार खतिवडाले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै अन्यथा निर्वाचन आचारसंहिता निर्देशिका बमोजिम त्यस्ता सामग्री हटाइ सञ्चार माध्यममा प्रचारप्रसार गर्ने र त्यसको प्रभाव मतदातामा पर्ने हुनाले सजग हुन दललाई अनुरोध गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलहरुले आचारसंहिता विपरत निर्वाचन क्षेत्रमा खसालिएका निर्माण सामग्री, विद्युत् पोललगायतका अन्य सामग्री र कार्य २४ घण्टाभित्र हटाउन आग्रह गरे ।

मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले स्थानीय निकायले वार्षिक नगर तथा गाउँपालिकाको सभाले तोकिए बमोजिम क्षेत्रमा निर्माण कार्य गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका मोरङ अध्यक्ष विनोद ढकालले मोरङका निर्वाचन क्षेत्र नं ३ मा स्वास्थ्य शिविर, निर्माण सामग्री र विद्युत् पोल वितारण गरिएको गुनासो व्यक्त गरे ।

निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आयोगको अनुमित विपरित दलको झण्डा लागेको सवारी साधनलाई स्थलगत रुपमा नियन्त्रण लिने विश्वास दिलाए ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य राजनीतिक पार्टीका प्रतिनिधि, निर्वाचन अधिकृत, नेपाल प्रहरी र संशस्त्र प्रहरीको सहभागिता थियो । रासस