११ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सर्वोच्च अदालतको आदेशको स्वागत गर्दे निर्वाचन आयोग निर्वाचनको लागी अझ तत्पर भएर लाग्ने बताएका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज काठमाडौमा समापन गर्दे उनले यस्तो बताएका हुन् । उनले आयोगले व्यबस्थापकीय कार्यलाई तिव्र रुपमा अघि बढाएको भन्दै कुनै आशंका नगर्न आग्रह पनि गरे ।

यादवले निर्वाचन पूर्वनिर्धारित मितिमै हुने बताउँदै अब पनि यसबारेमा कतैपनि अन्यौलता हुन नहुने धारणा राखे । उनले भू्गोल र अन्य कारणले दुईचरणमा निर्वाचन गर्नुपरेको बताए ।

प्रशिक्षणमा रक्षा तथा गृहमन्त्रालयका अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसान्धान विभागका अधिकृत सहित ६३ जनाको सहभागिता थियो ।