१६ असोज, एजेन्सी । सलमान खान र प्रियंका चोपडालाई एकैपटक सिनेमाहलको पर्दामा देख्न दर्शकको चाहना अर्को वर्ष २०२० मा पनि पूरा नहुने भएको छ । २०२० को ईदमा रिलिज हुने प्रभुदेवाले निर्देशन गर्न लागेको चलचित्रमा सलमानले पहिले नै कट्रिना कैफलाई लिइसकेको बुझिएको छ ।

सलमानले प्रियंकालाई नचुनेर कट्रिनालाई चुनेका हुन् । यसअघि पनि सलमान खानको चलचित्र भारतका लागि नायिका प्रियंका चोपडालाई लिने भनिएको थियो । तर प्रियंकाले विवाहको कारण देखाउँदै फिल्म नगरेकी हुन् । २०२० को ईदमा रिलिज हुने सलमानको फिल्ममा सलमान खान प्रहरी अफिसरको भूमिकाम देखिने पक्का भएको छ । यसअघि उनले दबंगमा पनि प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा शुरुमा प्रियंकालाई लिने कुरा भएता पनि सलमानले सिधै हुन्न भनेका थिए । भारतीय मिडियाका अनुसार फिल्मको लागि ज्याकलिन फर्नान्डेज र कट्रिना कैफको नाम अगाडी आएको थियो । त्यसमध्ये सलमानले कट्रिनालाई छानेका हुन् ।