इदको अवसरमा रिलिज भएको बलिउड स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिन ४२.३ करोड भारु कमाइ गरेको छ। यो फिल्म इदमा रिलिज भएका सलमानका सबै फिल्मले ओपनिङको दिन गरेको कमाइ मध्येकै सबैभन्दा बढी रकम हो। यसभन्दा पहिले यो रेकर्ड ‘सुल्तान’को नाममा थियो, जसले पहिलो दिन ३६.५४ करोड भारु कमाइ गरेको थियो।

वर्षकै ठूलो ओपनर

सन् २०१९ मा रिलिज भएका बलिउडका फिल्महरुमा ‘भारत’ले पहिलो दिन सबैभन्दा बढी कलेक्शन गरेको छ। यो भन्दा पहिलो रिलिज भएको ‘कलंक’ले २१.६ करोड भारु, ‘केसरी’ले २१.०६ करोड भारु, ‘गली व्वाय’ले १९.४ करोड भारु र ‘टोटल धमाल’ले १६.५ करोड भारु पहिलो दिनमा संकलन गरेको थियो।

सलमानको फिल्मको नयाँ रेकर्ड

केवल सलमानको फिल्म मात्रको कुरा गर्दा, ‘भारत’ सबैभन्दा ठूलो ओपनर भएको छ। यो भन्दा पहिलो सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४०.३५ करोड भारुको रेकर्ड बनाएको थियो।

५ जूनमा ‘भारत’ रिलिज भएको बेला भारत र दक्षिण अफ्रिकाबीच वर्ल्डकप अन्तर्गत क्रिकेट म्याच चलिरहेको थियो। यसको बावजूद ‘भारत’ले बक्स अफिसमा रेकर्ड बनाउन सफल भयो। यो फिल्म विश्वभर ६००० स्क्रिनमा रिलिज गरिएको छ।