२३ कात्तिक, काठमाडौं । बाँके र चितवनमा सवारी दुर्घटनाममा परी दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा विद्यार्थी नेता समेत रहेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

फाइल तस्बिर

अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

यस्तै चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस