३० असाेज, गाेरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् ।

फाइल तस्बिर

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भने, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।” नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।”

अर्को फरक प्रसङ्गमा डा भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए। सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो । “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, पूर्व प्रधानमन्त्री डा भटृराइले भने। रासस