बेइजिङ, ३ फागुन ः साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एसियाली देशहरुको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्नुहुनेभएको छ । 

उहाँले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहनुभएका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन आउन लाग्नुभएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । 

उहाँले यसअघि पाकिस्तानको दुई दिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ । 
त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इन्डोनेसियाको भ्रमण गर्नुहुने जनाइएको छ । इन्डोनेसिया आउनु भन्दा अगाडी उहाँले मलेसियाको पनि भ्रमण गर्नुहुनेछ भने त्यसपछि उहाँ भारत आउनुहुनेछ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उहाँको दुई दिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन् । भारतपछि उहाँ चीन आउनुहुने भएको हो । 

साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि संवन्धीत देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् । 

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धीत देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

उहाँको सवै भ्रमण आपसी सम्वन्ध, दुई पक्षिय हित र सहयोग आदान प्रदानका विषयमा केन्द्रीय हुने समाचारमा जनाइएको छ । 

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् । 
––– 
(रासस÷सिन्ह्वा)