काठमाडौं, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय रंगेली, मोरङ्गका नायब सुब्बा प्रदिप घिमिरेसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । मोरङ्गको साविक सिजुवा गाविस ८ मा रहेको जग्गाको कम मूल्यांकन गरी राजश्वसमेत घोटाला गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको आयोगले जनाएको छ ।

कार्यालयका अर्का नायब सुब्बा देवीप्रसाद लुईँटेल, सिजुवा गाविसका बहिदार नन्दलाल राजबंशी, रतुवामाई नगरपालिका ७ का वडाध्यक्ष दानालाल राजबंशी, साविक इटहरी गाविसका जग्गा विक्रेता दुर्गा निरौला, धरानको धरान उपमहानगरपालिका १८ का जग्गा खरिद गर्ने हस्तराज ओखराबु (लिम्बू) र पथरी शनिश्चरे नगरपालिका १ का जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

तत्कालनि अवस्थामा ३३ लाख ३७ हजार ५ सय रुपैयाँ पर्ने जग्गालाई २९ लाख ९० हजार मात्र देखाई राजश्व छलेको अख्तियारको आरोप छ । उनीहरु सबैसँग गरी ३३ लाख २३ हजार रुपैयाँ विगो मागदावी गरिएको आयोगले जनाएको छ ।