२८ पुस, दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाइमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज बन्द गरेको भीमाद प्रवेश गर्ने बाटो सात घण्टापछि सञ्चालनमा आएको छ ।

फाइल फाेटाे

बिहान ८ बजेदेखि बन्द भएको बाटो दिउँसो ३ बजे सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालयमा पीडित पक्ष र यातायात व्यवसायीबीच भएको छलफलपछि बाटो सञ्चालन गर्ने सहमति भएको हो । छलफलमा माघ १२ गते जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच वार्ता गर्ने सहमति भएपछि बाटो सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए ।

छलफलमा स्थानीय यातायात प्रालीका दुर्घटना सहसंयोजक मेहरमान श्रेष्ठले कानूनबमोजिम क्षतिपूर्ति दिन आफूहरु सकारात्मक रहेको बताएका थिए । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पुर्याएका थिए । बाटो अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रु मर्कामा परेका थिए ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं को अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ का ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भएका थिए । रासस