१२ भदौं, काठमाडौं । नेपाल १५ वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

फाइल फाेटाे

आज विहीबार भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । खेलको पाँचौं मिनेटमै प्रदीप लम्सालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले बाँकी ३ गोल दोस्रो हाफमा गर्यो । खेलको ४८ औं मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । असिम राइले ७५ औं र क्रिस सापकोटाले ८५ औं मिनेटमा गोल थपे ।

जितसँगे नेपालको उपाधि भिडन्त फेरि भारतसँगै हुने भएको छ । लिग चरणमा नेपाल भारतसँग मात्रै पराजित भएको थियो, त्यो पनि ५–० को फराकिलो गोल अन्तरले । श्रीलंका, बंगलादेश र भुटानलाई हराएको नेपाललाई फेरि भारतलाई हराएर उपाधि जित्नु निकै कठिन छ । भारत र नेपालबीचको उपाधि भिडन्त पर्सि शनिबार हुनेछ ।