२० फागुन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलाबेलामा सबैलाई चकित पार्ने निर्णय र घोषणाहरु गरिरहेका हुन्छन् । सोमबार राति पनि प्रधानमन्त्री मोदीले यस्तै घोषणा गरेका छन् । जुन विषय आज बिहानभर भारतमा चर्चाको विषय बन्यो ।

सोमबार राति ८ बजेर ५६ मिनेटमा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै लेखे, ‘यो आइतबार सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इंस्टाग्राम र युट्युब नचलाउने सोचिरहेको छु ।’ उनले किन यस्तो निर्णय गरेका हुन् भन्नेबारे भने अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन ।

उनको यो ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ता दुई धु्रवमा बाँडिएका छन् । कतिपयले प्रधानमन्त्रीको सपोर्टमा बोलेका छन् भने कतिपयले मोदीले अब सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउन लागेको संकेत भन्दै यसको ब्याख्या गरेका छन् ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याण्डलमा ५ करोड ३३ लाखभन्दा बढी फलोअर्स छन् । फेसबुकमा ४ करोड ४७ हजार र इंस्टाग्रममा ३ करोड ५२ लाख मानिसहरुले मोदीलाई फलो गरेका छन् । त्यसैगरी युट्युबमा उनको च्यानललाई ४ करोड ५१ लाख मानिसले सब्सक्राइब गरेका छन् ।