२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको ओलीको सचिवालयकै कारण प्रधानमन्त्रीले राम्ररी काम गर्न नपाएको भन्दै समूहकै एकमुष्ठ राजीनामा आउन लागेको स्रोतले जानकारी दिएको छ ।

‘प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्ने भएपछि हामी सल्लाहकारहरूले छलफल गर्‍यौं । सचिवालयमा पनि सो स्प्रिट कायम होस् भनेर सामूहिक राजीनामा दिने निष्कर्षमा पुग्यौं,’ सचिवालयमा रहेका एक सदस्यले भने । केही सदस्यले राजीनामा दिइसकेका छन् भने केही सदस्य राजीनामा दिने क्रममा छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको छ । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।

मन्त्रिपरिषद् पुनःगठन गरेर सरकारको कामलाई गति दिने भएपछि प्रधानमन्त्रीको सचिवालय पनि हेरफेर होस्, नयाँले अवसर पाउन् र त्यसको प्रभाव प्रधानमन्त्रीको कार्यसम्पादनमा देखियोस् भनेर सामूहिक राजीनामा दिने निचोडमा पुगेको ती सदस्यको दाबी छ ।