भक्तपुर, ११ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताएका छन् ।

मन्त्रालयले बुधबार भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनमा उनले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र सङ्घीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने बताए । कक्षा कोठाको सिकाइमा सुधार नआएसम्म बाहिरी आवरण चिटिक्क बनाउँदैमा नतिजा राम्रो नआउने भन्दै मन्त्री पोखरेलले भने,“शिक्षक भट्याउने र विद्यार्थीले सुन्ने संस्कारको अब अन्त्य हुनुपर्छ, विद्यार्थीलाई असल आचरण, आफ्नै प्रयासबाट सिक्ने संस्कारको विकास गर्नु आवश्यक छ ।”

बालविकासलाई आकर्षण एवं मनोरञ्जनात्मक शैक्षिक पद्धतिमा लैजानुको साथै शिक्षिकालाई मन्टेश्वरी तालीम प्रदान गर्ने, कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम वैशाखबाट लागू गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले विद्यालयमा डिजिटल पाठ्यसामग्रीको विकास गर्ने, राष्ट्रभाषामा अध्ययन गराइने, शिक्षक तालीम तथा पेशागत विकास र पुरस्कारको व्यवस्था गरिने बताए ।

साथै विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार गर्ने, अतिरिक्त क्रियाकलापमा जोड दिने, एक विद्यालय एक बगैँचा कार्यक्रम लागू गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधार गर्ने, विद्यालयको न्यूनतम भौतिक पूर्वाधार सुनिश्चित गर्ने, नमूना विद्यालय र आवासीय विद्यालय सञ्चालन गर्ने, फरक क्षमता भएका बालबालिकाका लागि विशेष सिकाइको अवसर प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा सांसद जयपुरी घर्तीले अब जीवन उपयोगी शिक्षा दिनुपर्ने बेला आएको औंल्याइन् । शिक्षा मन्त्रालयका सचिव खगराज बराल, राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार दीपकराज गिरी, आनी छोइङ डोल्मा, नेपाल युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेललगायतले शिक्षाबिना समृद्धि असम्भव भएकाले शिक्षाको गुणस्तरमा वृद्धि आवश्यक रहेको औंल्याए। बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा शिक्षाविद्, सरोकारवाला निकायका प्रतिनिधि, विभिन्न शैक्षिक सङ्घ सङ्गठनका प्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक एवं शिक्षकको सहभागिता रहेको छ ।(रासस)