२९ असार, काठमाडौं ।

आज २०४ औं भानुजयन्ती । नेपालका विभिन्न स्थान र नेपाली भाषीहरु बसोबास गर्ने छिमेकी मुलुक भारतको दार्जिलिङ, सिकिम्म लगायतका स्थानमा विभिन्न कार्यक्रम आयोजना गरि भानुजयन्ती मनाईदै छ । त्यसैगरी नेपाली भाषीहरु बसोबास गर्ने विश्वका अन्य मुलुकहरुमा समेत २०४ औं भानु जयन्ती विविध कार्यक्रम आयोजना गरि मनाईदैछ । यसै सिलसिलामा आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा र तनहुँको सदरमुकाम दमौली नजिकै रहेको घाँसीकुवामा समेत आज भानु जयन्ती मनाईदैछ । भानु जयन्ती मनाउनका लागि राजधानी लगायतका देशका विभिन्न स्थानबाट यतिखेर साहित्यकार र साहित्य अनुरागाीहरु चुँदीरम्घा आउने क्रम समेत जारी रहेको छ ।

तनहुँको डुम्रे बजार हुँदै करिब १० किलोमिटर यात्रा गरेपछि चुँदीरम्घाको बेसी पुगिन्छ । जहाँ हाल भानु जन्मस्थल विकास समितिको कार्यालय रहेको छ । यहिबाट नै कार्यालय सञ्चालन गरिन्छ । त्यस्तै यहि स्थानमा नै भानुभक्त सम्बन्धी पुस्तकालय र भानुभक्तकालिन सामाग्रीहरु संग्रह गरेर राखिएको छ । यहाँबाट झण्डै एकघण्टा पैदल यात्रा पछि जंगलको बीचमा पुगिन्छ । यही ठाउँमा भानुभक्त आचार्य जन्मिएको घरको अवशेष रहेको छ । जुन घरलाई आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित चलचित्र निर्माण गर्दा पुर्ननिर्माण गरिएको थियो ।तर उक्त घर केही बर्ष अगाडि डढेलोबाट जलेर नष्ट भएको थियो । पुनः पुर्ननिर्माणको प्रक्रिया जारी रहेको छ । भानुको जन्मघर बाट झण्डै आधा घण्टा पैदल पुगेपछि चुँदी रम्घा को गाउँ पुगिन्छ । जहाँ भानुभक्तको सालिक सहित पार्क निर्माण गरिएको छ ।

नेपाली साहित्यिका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा भाषिक र साहित्यिक हिसाबले निकै महत्वपूर्ण स्थान हो ।तर राज्यले उचित ध्यान दिन नसक्दा ओझेलमा परिरहेको जिल्लाबासीको भनाई रहेको छ ।

हुन त भानुभक्तको जन्मथलो चुँदी रम्घाको विकासका लागि भनेर वि.स. २०५२ सालमा भानुजन्मस्थल विकास समिति गठन गरिएको थियो ।तर जन्मस्थल विकास समिति कर्मचारीलाई तलब खुवाउन नसकेर थला परेर बसिरहेको अवस्था छ । भानु जन्मस्थल विकास समितिले दिएको जानकारी अनुसार कर्मचारीको तलब मात्रै ४२ लाख रुपैयाँ बक्यौता रहेको अवस्था छ । त्यस्तै सरकारको ध्यान नपुग्दा भानुभक्तकालिन सामाग्री समेत नष्ट भएर जाने खतरा बढ्दै गएको छ ।

विश्व साहित्यलाई एकपटक नजर लगाउने हो भने महान नाटककार शेक्सपियरको जन्मथलोलाई बेलायतबासीले साहित्यिक तीर्थस्थलको रुपमा विकासको गरेको पाइन्छ । जहाँ अध्ययन र अवलोकनका लागि बर्षेनी लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा भने दिनप्रति खण्डहरमा परिणत हुँदै गर्दा पनि त्यसको संरक्षणमा न राज्यको ध्यान पुग्न सकेको छ न त जिल्लाबासीको नै ।

भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड