१३ भदौ, काठमाडौं । एक्सन थ्रिलर फिल्म ‘साहो’ ३० अगस्टमा १० हजारभन्दा धेरै स्क्रिनमा रिलिज भएको छ । तर रिलिजको दौरान निर्मातामाथि संकट उत्पन्न हुने देखिएको छ । एकतर्फ कैयौँ स्थानमा फिल्मको बिहानी शो रद्द भएको छ भने अर्कोतर्फ फिल्ममेकर्सलाई एक कलाकारले आर्टवर्क चोरी गरेको आरोप लगाएका छन् ।

शुक्रबार ‘साहो’को मर्निङ शोको विषयलाई लिएर कैयौँ ठाउँमा तनाव भएको थियो । भारतको उत्तर प्रदेशको कैयौँ ठूला सिनेमा चेनका लगभग २ हजार प्रिन्टहरु ढिला भएपछि बिहानीको शोहरु रद्द गर्नुपरेको थियो । यो समस्या ‘साहो’को हिन्दी भर्जन प्रदर्शनभएका हलहरुमा भएको हो । दर्शकहरुले पहिले नै बुक गरेको टिकटसमेत नपाएपछि उनीहरु निराश बनेका थिए ।

यस्तै साहो फिल्मको निर्मातामाथि एक कलाकारले आफ्नो आर्टवर्क चोरी गरेको आरोप लगाएका छन् । कन्टेम्पोररी कलाकार शिलो शिव सुलेमानले हालै इंस्टाग्राममा आफ्नो आर्टवर्कको फोटो शेयर गरेका छन् । उनले २०१४ मा भएको बर्निङ आर्ट फेस्टिभलमा यो आर्टवर्क चर्चित बनेको बताउँदै अनुमतिबिना आफ्नो सिर्जनशीलता ‘प्ल्स एण्ड ब्लूम’ लाई ‘साहो’को गीतमा प्रयोग गरिएको बताएका छन् । उनले आफ्नो इंस्टाग्राममा योसँग जोडिएको लामो पोस्ट गरेका छन् ।