५ माघ, काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ गर्न अनुमति पाएसँगै आस्था राउत फरार अभियुक्त बनेकी छन् । उनी कार्यक्रमको लागि सिक्किममा छिन् । उनी नेपाल फर्किएलगत्तै उनलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । एक मिडियासँग सिक्किमबाटै कुरा गर्दै आस्थाले आफू आज शो को तयारी गरिरहेको बताउँदै नेपाल आएपछि आफूले प्रहरीलाई सहयोग गर्न तयार रहेको बताइन् ।

बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जान हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेको थियो । प्रहरी जवानले आफूलाई दुर्व्यवहार गरेको जिकिरसहित आस्थाले बुधबारै फेसबुकमा लाइभ आएर सिंगो प्रहरी संगठनमाथि नै जथाभावी गाली गरेकी थिइन् । प्रहरीका ठूला हाकिमले मात्रै आफूलाई सम्मान गरेको जिकिर गर्दै सानाले हेपेको गुनासो उनको थियो ।

आस्थाले प्रहरीका सिपाहीं र हवल्दारलाई डन्ठे र प्युसाको संज्ञा दिएपछि विवाद चर्किएको थियो । तल्लोतहको शब्दकोसमेत प्रयोग गरेर प्रहरी संगठनमाथि नै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि आस्था विवादमा तानिएकी थिइन् । प्रहरीले शुक्रवार विमानस्थलको सीसीटिभी फुटेज सार्वजनिक गरिदिएपछि गायिका राउत रुँदै फेसबुक लाइभमा आएकी थिइन् । उनले फेसबुक लाइभमार्फत माफी माग्दै आफूले मनमा कुरा लुकाउन नसकेको बताएकी थिइन् ।