२२ पुस, एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष सम्बन्धी र्‍यालीलाई त्यहाँका सुरक्षा निकायका अधिकारीहरुले रोक लगाएका छन् ।

र्‍यालीको लागि पूर्वअनुमति नलिएको भन्दै स्थानीय प्रहरीद्वारा पर्यटनमन्त्री योगेश भट्टराई लगायतको टोलीलाई रोक लगाइएको अस्ट्रेलियन प्रहरी अधिकरीहरुले जनाएका छन् । र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

न्यू साउथवेल्स प्रहरीका अनुसार पूर्वअनुमति नलिएको र्‍याली व्यवसायीक लाभका लागि मात्रै भएकोले रोक लगाइएको हो । अनुमतिबिना र्‍याली निकाल्दा पैदलयात्रीलाई असर पर्ने भएकाले त्यसमा रोक लगाइएको अष्ट्रेलियन प्रहरीको दाबी छ । कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै प्रहरीले ओपेरा हाउससम्म जान रोकेको बुझिएको छ ।

डढेलोको समस्या झेलिरहेको अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको प्रचारप्रचारका लागि नेपालबाट उच्चस्तरीय भ्रमण गर्न नहुने भन्दै सामाजिक सञ्जाल र विज्ञहरुको सुझाएपनि नेपाली भ्रमण टोली विवादित बन्दै आएको थियो । आयोजकले सिडनी काउन्सिलसँग अनुमति नलिइ र्‍याली निकालेका कारण समस्या भएको अष्ट्रेलियामा बस्ने नेपालीले बताएका छन् ।

यता मन्त्री भट्टराईका स्वकीय सचिब प्रेम गुरागाईंले प्रहरीले रोकेको भन्ने आशयका समाचारहरु गलत सम्प्रेषण भएको बताएका छन् । उनले फेसबुकमार्फत भनेका छन्–‘काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ।’

त्यहाँको प्रहरीले पछि स्थानीय ब्यानर बिना सिमित व्यक्तिहरुलाई मात्र ओपेरा हाउससम्म जान दिएको थियो । केही व्यक्तिहरुलाई ओपेरा हाउस जान दिएपछि पर्यटनमन्त्री भट्टराई, न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।