२६ भदौ, काठमाडौं । जारी क्यारेबियन प्रिमियर लिग प्रिमियरमा सन्दीप लामिछानेले दमदार प्रदर्शन गरेका छन् । बिहीबार बिहान भएको खेलमा बारबेडोस ट्राइडेन्टमा अनुबन्धित सन्दीले चार ओभर बलिङ गर्दै २२ रन खर्चिर तीन विके लिएका छन् ।

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सविरुद्धको खेलमा सन्दीपले पहिलो र दोश्रो ओभरमा समान ७–७ रन खर्चिएता पनि विकेट लिन सकेनन् । तर तेश्रो ओभरमा भने सन्दीपले दुई विकेट हात पारे, जसका लागि उनले ६ रन खर्चिएका थिए । उनले ओभरको पहिलो बलमा पेट्रियट्सका शम्राह ब्रुक्सलाई क्याचआउट गरे भने अन्तिम बलमा लौरी इभान्सलाई पनि क्याच आउट गरेका हुन् ।

त्यसैगरी तेश्रो विकेट हात पार्नको लागि सन्दीपले अन्तिम ओभरसम्म पर्खनुपर्यो । आफ्नो अन्तिम ओभरमा तेश्रो बलमा लामिछानेले विपक्षी टीमका कप्तान कार्लोस ब्रेथवेटलाई एलबिडल्बुको सिकार गरेका थिए ।

सन्दीपको महत्वपूर्ण तीन विकेटले टीमलाई पनि फाइदा पुग्यो । टीमले खेल १८ रनले जितेको छ । टाइडेन्टले दिएको १८७ रनको लक्ष्य पछ्याएको पेट्रियट्स ९ विकेट गुमाएर १ सय ६८ रनमा समेटिएको थियो ।