११ साउन, काठमाडौं । अमेरिकी टेलिभिजन च्यानल सीएनएन ट्राभलले एसियाका घुम्नै पर्ने १३ स्थानहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा नेपालको घान्द्रुक दशौं स्थानमा समेटिएको छ ।

सीएनएनले उष्ण टापुहरु, धान खेती, चिया बगान, सुन्दर हिमाल तथा बढ्दो शहरका कारण एसिया विविध गन्तव्य स्थलहरुको अद्भुत भूमी रहेको बताएको छ । उसले आफ्नो वेबसाइटमा लेखेको छ, ‘समुन्द्र सतहभन्दा करिव २ हजार मिटरमाथी रहेको घान्द्रुकमा पहाडले घेरिएका गाउँहरु रहेका छन् । पोखराबाट करिव ५ घण्टाको दूरीमा रहेको यो गाउँ ट्रेकिङको लागि प्रख्यात छ ।’

सीएनएनको उक्त सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटि अफ भिगन, लाओसको लुआङ प्रबाङ र कम्बोडियाको काम्पोट पनि रहेका छन्। त्यस्तै इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जोजुवाङ, भारतको मलिननोङ, हङकङको साइ कुङ तथा थाइल्याण्डको फुकेट पनि समावेश गरिएको छ।