२९ वैशाख, चितवन ।

चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बनेका छन् ।

उहाँलाई हिजो नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ ।

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए ।

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ ।