३० साउन, एजेन्सी । दक्षिण भारतीय तमिल फिल्मका नायक विजयले आफ्नो आगामी फिल्म ‘बिगिल’की सुटिङ सकिएको खुसीमा क्रु मेम्बरहरुलाई सुनको औंठी उपहार दिएका छन् ।

मंगलबार सुटिङ सकिएसँगै फिल्मका नायक विजयले ४ सय जनालाई सुनको औंठी दिएका हुन् । औंठीमा फिल्मको नाम अंग्रेजी अक्षरमा लेखिएको छ । उनले कति तोलाको औंठी दिएको भन्नेबारे खुलाउन चाहेका छैनन् ।

फिल्मकी निमात्री एजीएम सिनेमाकी सिइओ अर्चना कलपतिले यो कुराको जानकारी दिएकी हुन् । उनले एक ट्वीट गर्दै चलचित्रको टीमले नायक विजयमार्फत ४ सय जनालाई सुनको औंठी दिएको पुष्टि गरेकी हुन् । उनले लेखेकी छन्, ‘माया भरिएको उपहारले विजयले सबैको मन जितेका छन् ।’

यस्तै फिल्मसँग जोडिएकी एक कलाकार आथमाले ट्वीटरमा भिडियो पोस्ट गर्दै सुनको औंठी उपहार दिएकोप्रति विजयलाई धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्, ‘भगवानले तपाईं र तपाईंको परिवारलाई खुसी राखुन् ।

तिहारको अवसर पारेर रिलिजको तयारीमा रहेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान पनि देखिने भारतीय मिडियाले लेखेको छ । फिल्ममा उनी भिलेनको भूमिकामा देखिने छन् । फिल्मको पहिलो पोस्टर २१ जुनमा रिलिज भइसकेको छ । पोस्टरमा विजय बुवाछोरको दोहोरो भूमिकामा देखिँदैछन् ।