२ असोज, काठमाडौं । भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ ।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । बिहीबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।