२२ साउन, एजेन्सी । पूर्व विदेश मन्त्री तथा भारतीय जना पार्टीकी बरिष्ठ नेता सुष्मा स्वराज अब यो दुनियाँमा रहिनन् । स्वराजको निधनको खबरले यतिबेला पुरै भारत शोकमा छ । उनको जीवन यात्रामा यस्ता थुप्रै उपलब्धीहरु हाँसिल भएका छन् जसले देशलाई हमेशा गर्व गर्ने अवसर प्रदान गरेको छ । उनका जीवनमा आएका केही महत्वपूर्ण उतारचढावलाई नियालौं ।

जन्मः सुष्मा स्वराज सन् १९५१ फेब्रुअरी १४ का दिन भारतको हरियाणामा जन्मिएकी हुन् । हरदेव शर्मा र लक्ष्मी देवीको छोरीका रुपमा अम्बाला कैंटमा उनको जन्म भएको हो ।

दाजुका साथ पछाडी सिटमा २ वर्षीया सुष्मा

विवाहः सुष्मा शर्माबाट उनी सुष्मा स्वराज बनिन् । स्वरज कौशलसँग विवाह भएपछि उनको परिचय फेरिएको हो ।

सुष्माले १३ जुलाई १९७५ मा विवाह गरिन् । स्वराज सर्वोच्च अदालतलमा बरिष्ठ वकिलका रुपमा काम गरिरहेका थिए । त्यसबेला उनको उमेर ३४ वर्षको थियो । स्वराज फेब्रुअरी १९९० देखि १९९३ सम्म मिजोरमको राज्यपाल पनि रहेका थिए । दुवैले सर्वोच्च अदालतमा सँग सँगै काम गरे ।

उनकी एक छोरी छिन् । सुष्माकी छोरी बांसुरी स्वराज आफ्नी आमाको पदचाप पछ्याइरहेकी छिन् उनी अक्सफोर्ड ग्र्याजुयट हुन् र कानुनको पनि अध्ययन गरिरहेकी छिन् ।

छाेरीका साथ सुष्मा

पाकिस्तानसँग पनि थियो नाताः सुष्माका माता पिता पाकिस्तान लाहौरको धर्मपुरका थिए । पछि उनीहरु हरियाणा आएर बसेपछि सुष्मा त्यहिँ जन्मिएकी हुन् । पाकिस्तानको आफ्नो अन्तिम भ्रमणका क्रममा सुष्मा आफ्नो माता पिताको घर धर्मपुर पनि गएकी थिइन् ।

सुष्माको शिक्षाः उनले अम्बाला क्यान्टोनमेन्टको सनातन धर्म कलेजबाट प्रारम्भिक शिक्षा पुरा गरिन् । उनले संस्कृति र राजनीति विज्ञानमा ब्याचलर डिग्री लिएकी थिइन् । त्यसपछि पञ्जाव विश्वविद्यालय चंढीगढबाट कानुनको पढाइ पनि गरेकी थिइन् ।

म्युजिक र नाटकमा रुचीः सुष्मा राजनीति सँगै क्लासिकल, म्युजिक, कविता, फाइन आर्टस् र नाटकमा रुची राख्थिन । समग्रमा उनी एक अलराउण्डर थिइन् ।

राजनीतिक यात्राः सन् १९७० मा सुष्मा अखिल भारतीय विद्यार्थी परिषद (एबीपी) मा सामेल भइन् । त्यतिबेला उनका पिता पनि राष्ट्रिय स्वयमसेवक संघका प्रमुख सदस्य थिए ।

सर्वोच्च अदालतमा बहसः कानुन पनि पढेकी सुष्माले सन् १९७३ मा सर्वोच्च अदालतमा वकिलका रुपमा कानुनी अभ्यास सुरु गरिन् । स्वराज कौशलसँगै उनले जर्ज फर्नान्डिसको कानुनी टिमसँग काम गरिन् ।

युवा मन्त्रीः सन् १९७७ मा जनता पार्टीको सरकारमा २५ वर्षीया सुष्मा सबैभन्दा युवा मन्त्री बनिन् । २७ वर्षको उमेरमा सुष्मा जनता पार्टी हरियाणा प्रदेशकी अध्यक्ष बनिन् । उनी पहिलो महिला अध्यक्ष भइन् ।

यसका अलावा बिजेपीका तर्फबाट पहिलो महिला मुख्यमन्त्री, विपक्षी दलकी पहिलो महिला महसचिव , दोस्रो महिला विदेश मन्त्री सबै इतिहास उनको नाममा रह्यो । उनी राजनीतिमा लागेर चुनाव लडेदेखि कहिल्यै हारको सामना गर्नुपरेन । आफ्नो जीवनकालमा उनी ७ पटक चुनाव जितेरै सांसद बनिन् भने ३ पटक विधानसभा सदस्य बनिन् ।

यसवर्ष भएको चुनावमा पनि टिकट पक्का हुँदा हुँदै सुष्माले आफू अस्वस्थ भएकाले नउठ्ने बताएकी थिइन् । अन्ततः मंगलबार राति घरमै हृदयघात भएपछि उनको निधन भयो ।