२९ असोज, एजेन्सी । उत्तर कोरियाका सर्वोच्च कमाण्डर किम जोङ उन अहिले आराम गर्ने मुडमा छन् । उत्तर कोरियाको सरकारी एजेन्सीका तर्फबाट किमका केही तस्वीर सार्वजनिक गरिएको छ जसमा उनी सेतो घोडामा देखिएका छन् ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले यसै हप्ता उत्तर कोरियाको ऐतिहासिक पाक्तु पहाड चढेका छन् । यो पहाडको आफ्नै राजनीतिक इतिहास पनि छ । यहि पहाडमा किमका पिता किम जोङ द्वितीयको जन्म भएको थियो । किमको यो स्थानको तेस्रो भ्रमण हो ।

जानकारहरुका अनुसार किमले कुनै पनि ठूलो फैसला लिनुभन्दा अघि किम यहाँ आउने गर्दछन् । यसअघि सन् २०१७ मा यहाँको भ्रमण गरेर फर्केपछि किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेका थिए । दुई पटकको भेटघाटपछि दुई देशबीचको संवाद अघि बढ्न सकेको छैन । यस्तो बेला किमको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको विश्लेषण गरिएको छ ।