१९ कात्तिक, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको स्तर खतरामा पुगेको छ । प्रदुषण घटाउनको लागि दिल्लीको स्थानीय सरकारले सवारी साधनमा सोमबारदेखि जोर–विजोर प्रणाली लागू गरेको छ । यो नियम १५ नोभेम्बरसम्म लागू गर्न लागेको भारतीय मिडियले लेखेको छन् । नियमको उल्लंघन गर्नेलाई ४ हजार रुपैयाँको जरिवाना गरिने स्थानीय सरकारले जनाएको छ । नियम कडा तरिकाले लागू गर्नको लागि दिल्लीका भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

जोर–विजोर प्रणालीमा जोर दिन अर्थात पछाडीको अंक ०, २, ४, ६, ८ आउने दिनहरुमा जोर नम्बरप्लेटका गाडीहरु अर्थात नम्बर प्लेटको पछाडीको अंक ०, २, ४, ६, ८ भएका सवारीहरु मात्र चल्न पाउनेछन् भने विजोर (१, ३, ५, ७, ९)दिनमा सवारी साधनको नम्बरप्लेटको पछाडीको अंक १, ३, ५, ७, ९ भएका सवारी साधनहरुमात्र चल्न पाउनेछन् । एकपटक जरिवाना गरिसकेका सवारीहरुले पुनः नियम उल्लंघन गरे उनीहरुलाई फेरि पनि ४ हजार रुपैयाँ जरिवाना लगाइने छ ।

अरु सवारी साधनहरुलाई यस्तो नियम लागू भएता पनि एम्बुलेन्स, दमकल, जेलको कैदी बोकेको सवारी र शवबाहनलाई भने यो नियम लागू नहुने बताइएको छ । यदि कुनै व्यक्तिले निजी सवारी वा अन्य कुनै भाडाका सवारीमा विरामी अस्पताल लैँजादै गरेको अवस्थामा पनि परिस्थिति हेरेर छुट दिइने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले अन्य राज्यबाट आउने सवारी साधनमा पनि जोर–विजोर प्रणाली लागू हुने स्पस्ट पारिसकेका छन् ।

अत्याधिक प्रदुषण बढेपछि त्यहाँको सरकारले २ तारिखदेखि ५ तारिखसम्म दिल्लीका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ भने निर्माण कार्यहरु गर्न पनि प्रतिबन्ध लगाएको छ । प्रदुषणका विस्तारै कम हुँदै गएपछि स्थिति सामान्य बनाउँदै लगिने मुख्यमन्त्री केजरीवालले बताएका छन् ।