१७ माघ, रुपन्देही । सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नम्बरको स्कुटीमा ठोक्किँदा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मृत्यु भएका दुवै लु ४२ प ७०४६ नम्बरको मोटरसाइकलमा सवार थिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ । रासस