११ भदौ, पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा एक जना छात्राको एक्कासी ढलेर मृत्यु भएको छ ।

रम्भा माध्यमिक बिद्यालय रम्भा गाउँपालिका ताहुँमा कक्षा १० मा अध्ययनरत कमला फाल बुधवार बिहान पौने ८ बजेतिर बिद्यालयमा ट्युसन पढ्न आउने क्रममा बिद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जनाएको छ । उनको मृत्यु भएसँगै उनका ९ जना सहपाठी साथीहरु समेत रुँदा–रुँदै बेहोस भएका छन् ।

बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएको विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताए । उनको लुम्बिनी मेडिकल लैजाँदै गर्दा बाटोमै निधन भएको उनले बताए ।

उनी विद्यालयबाट करिव २ सय मिटर वर बाटोमा घरबाट बिद्यालय जादै गर्दा ढलेकी थिइन । आफ्नो साथी यसरी ढलेको देखेपछि आत्तिएर उनका साथीहरु पनि बेहोस भएका थिए । उनीहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । थप विवरण भने आउन बाँकी छ ।