१९ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा ५७ प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नगरपालिका१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ ।

बा १७ च ८११२ नम्बरको स्कर्पियोले बिहान १० बजे उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार बनेपा नपा–१२ कोटथुम्काका २६ वर्षीय सविन थापाको उपचार भइरहेको छ । घटनापछि स्कर्पियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस