२३ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनो भाइरसको जोखिम न्यूनीकरणका लागि सचेतना अपनाइएको बताएका छन् । अहिले भइरहेको तयारीले त्रसित हुनुनपर्ने भन्दै उनले सावधानी अपनाउन आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाको बैठकमा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भएका छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकट आउनुअघि नै तयारी गरिएको बताए । ‘कोरोना भाइरस नपड्किएको एम्बुस हो’, उनले भने-‘नपड्किउन्जेल कहाँ छ भनेर थाहा नहुने पड्किएपछि ठूलो क्षति हुन सक्ने भएकाले बेलेमै सचेतना अपनाउनु जरुरी छ ।’

सांसद लक्ष्मणलाल कर्णल कोरोना भाइरसबाट जोगिन के खाने ? भनेर गरेको प्रश्नमा स्वास्थ्य मन्त्री ढकालले भने, ‘स्वास्थ्य नपढेको मान्छे स्वास्थ्य मन्त्री भइएको छ, डाक्टरले भनेको गर्नु, डाक्टरहरुले गरेको नगर्नु ।’ उनले डाक्टरहरुले विरामीलाई सल्लाह दिएपनि आफूले कार्यान्वयन नगर्नेतर्फ संकेत गर्दै भने, पहिला पहिला शिक्षकले भनेको गर्नु गरेको नगर्नु भन्ने गरिन्थ्यो त्यस्तै ।

त्यसपछि उनले थपे ‘पानी अलि उमालेर खाए राम्रो, उकुसमुकुस हुने गरी नखाउँ,धेरै तडकभडक हुने खालको ठाउँमा गएर खानुभन्दा घरमै पकाएर खाइयो भने राम्रो गर्छ कि भन्ने मलाई लाग्छ ।’

यसअघि सांसद कर्णले कोरोना भाइरसबारे सामाजिक सञ्जालमा धेरै अफवाह फैलिएको भन्दै के खानुपर्ने हो मन्त्री ले नै भन्दिनुपर्ने बताएका थिए । यसको प्रभाव रोक्न कसैले रक्सी खाए ठिक हुन्छ भन्छ । कसैले प्याज खाए ठिक हुन्छ भन्छ । कसैले लसुन खाए ठिक हुन्छ भन्छ । कर्णले भने, मन्त्रीजी तपाईं नै बताइदिनुस् के खाए ठिक हुन्छ।’