२० असोज, बाजुरा । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।

कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् ।

दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ ।

कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् ।

हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको पत्रकार अनिल शाहीले बताउनुभयो । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ ।

आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ । महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित हँुदा थप सास्ती भोग्न बाध्य छन् ।

चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनु पर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । रासस