४ बैशाख, काठमाडौं । दैलेखमा आफ्नै हाकिमविरुद्ध उजुरी दिँदा महिला प्रहरीले उल्टै तनाव भोग्नु परेको छ। आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रेखा कुँवरले डीएसपी केदार रजौरेविरुद्ध उजुरी दिनुभएको थियो। न्यायको आशमा उजुरी दिए पनि घटनाको छानविनका लागि पुगेको समितिले उल्टै हपारेपछि रेखा थप तनावमा पर्नु भएको हो ।

म्यादी प्रहरी छनौटको क्रममा डीएसपी रजौरेले आफ्रूमाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको भन्दै दुई साता अघि प्रहरी जवान रेखाले कारबाहीको माग गर्दै अञ्चल प्रहरी कार्यालय भेरीमा उजुरी दिनुभएको थियो । घटनाको छानविन गर्न अञ्चल प्रहरी कार्यालयबाट दैलेख पुगेको टोलीले आन्तरिक घटना बाहिर ल्याएको भन्दै हपारेको हो । साथै मिडीया गुहारेको भन्दै समितिले उल्टै आफूलाई कारबाहीकोसमेत धम्की दिएको रेखाले गुनासो गर्नुभयो । न्याय दिने भन्दा पनि छानविन समिति पुर्वाग्रही बनेको उनका सहकर्मीले बताए ।

आफूलाई विना गल्ती डीएसपी रजौरेले चुल्ठो समातेर कुटपिट गरेको रेखाको आरोप छ । विना कारण आफूमाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गर्ने डीएसपीमाथि कारबाही हुनुको साटो माथिल्लो निकायले नै बचाउन खोजेको उहाँको दुखेसो छ । इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भए पनि रेखा जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ । म्यादी प्रहरी भर्नाको क्रममा निकै भीडभाड भएको र भीड नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आफूमाथि डीएसपीले दुर्व्यवहार गरेको भन्दै उहाँले न्यायको माग गर्दै उजुरी दिनुभएको थियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रलाई समेत उजुरी बोदार्थ पठाएपछि छानविन समिति गठन भएको थियो ।

अञ्चल प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरिक्षक हरिहर खड्काको नेतृत्वमा तीन सदस्यीय छानविन टोली दैलेख पुगेको थियो । उक्त टोलीले उल्टै आफूलाई हपारेको भन्दै रेखाले भन्नुभयो,‘न्याय पाउँछु कि भनेर उजुरी दिएकी हुँ, छानविनमा पनि सुस्तता गरिएको छ । मिडीयालाई खबर किन गरेको भन्दै हपार्ने काम मात्र भयो, न्याय पाउने भन्दा पनि मैले उल्टै तनाव भोग्नु परेको छ ।’ आजको अन्नपूर्णपोष्ट दैनिकमा खवर छ ।