५ पुस, काठमाडौं । हामीले पानी परेका कारण क्रिकेट खेल रोकिएको त सुनेकै हौँ, पानीले मैदान हिलो भएर खेल रोकिएको पनि सुनेकै हौँ तर अस्ट्रेलियामा भने हावाका कारण खेल रोकिएको छ ।

अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) त्यहाँको आकाशमा देखिएको हावाका कारण रोकियो । केहीबेरअघि शुरु भएको खेल ४ ओभर दुई बल खेलेपछि खेलमैदानमाथिको आकाशमा अत्याधिक दुषित हावा आई भिजिबिलिटीमा समस्या आएपछि खेल रोकिएको छ । खेल अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको मनुका ओभलमा भइहेको छ ।

हावामा सुधार आएपछि उक्त खेल सुचारु गरिने खेल खेलाइरहेका अम्पाएरले जनाएका छन् । केहीबेरअघि मात्र एकदमै राम्रो रहेको त्यहाँको मौसममा अचानक बदली आई दुषित हावा आएपछि खेल रोकिएको हो ।

अस्ट्रेलियामा केहीदिन अघि लागेको डढेलोका कारण त्यहाँको आकाशमा अहिले धुँवामिश्रित हावा चलिरहेको छ । धुँवामिश्रित हावाका कारण गत मंगलबार त्यहाँको तापक्रम ४२ डिग्री सेल्सियससमेत पुगेको थियो । अस्ट्रेलियामा अहिले संकटकाल लगाइएको छ । देशमा संकटकाल लागेपछि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पनि भ्रमण रद्द गर्दै स्वदेश फर्किएका थिए ।