७ चैत, काठमाडाैं । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् ।

निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो । कम्पनीले आजराति अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनै पनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिए।

हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो । रासस